वीरगञ्ज। प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशको एक मात्रै महानगरपालिका वीरगञ्जको मेयरको उम्मेदवारमा विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरेको छ।
केही साताअघि मात्रै जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका सरावगीलाई वीरगञ्ज महानगर कमिटीको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो।
एमाले वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले प्रमुखको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको एमाले वीरगञ्ज महानगर कमिटीका उपध्यक्ष महेश दासले बताए।
बुधबारको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई मेयरको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए भने उपाध्यक्ष महेश दासले समर्थन जनाएका थिए।
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेका थिए।
उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएका थिए।