• बैशाख २२ २०८३, मंगलवार

सत्तागठबन्धन दलबीच सिट बाँडफाँटको ७ आधार तयार

चैत्र २९ २०७८, मंगलवार

काठमाडौं । सत्तारुढ गठबन्धनको मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि ७ आधार तय गरेको छ ।

आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।  तालमेलको मोडालिटी तय गरेको गठबन्धनले गठबन्धनभित्रबाट हुनसक्ने अन्तरघातलाई ध्यानमा राखेर अन्य दलसँग तालमेल गर्न नपाउने समेत निर्णय गरेको छ ।

गठबन्धनले तय गरेको सिट बाँडफाँटको ७ आधार-
१) २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेको जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।

२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभार ।
३) २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।

४) २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धन भित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई आधार बनाउने ।

५) नेकपा एकीकृत समाजवादी २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदानम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भए बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन् गर्ने ।

६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरित्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।

७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।