काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि आन्तरिक सर्कुलर जारी गरेको छ। माओवादी केन्द्रले जिल्ला अध्यक्ष, इन्चार्जलाई सर्कुलर जारी गरेको हो।
सर्कुलरमा वैशाख ३० गते हुने निर्वाचनको लागि वैशाख ५ गतेभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिइएको छ। स्थानीय तहमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एक स्थानीय तह प्रमुख र प्रत्येक स्थनीय तहबाट कम्तीमा एक वडाध्यक्षमा महिला उम्मेदवार बनाउन सर्कुलरमा उल्लेख छ।
माओवादी केन्द्रले महानगर र उपमहानगरपालिकामा सके सर्वसम्मत‚ सर्वसम्मत नभए बढीमा तीन जना उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ। तीनजनाबाट प्राथमिकताको आधारमा केन्द्रले निर्णय गर्ने निर्देशनमा उल्लेख छ।
पाँच दलीय गठबन्धनलाई प्राथमिकता राख्दै तालमेलको सम्भावना नभए केन्द्रको स्वीकृति लिएर गर्नुपर्ने सर्कुलरमा उल्लेख छ।