• बैशाख २२ २०८३, मंगलवार

निर्वाचनको रकेट उडिसक्यो, अझै हुँदैन भन्ने भ्रममा नपरौं : थपलिया

चैत्र २९ २०७८, मंगलवार

विराटनगर। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले अझै पनि निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । मंगलबार विराटनगरमा आयोजित निर्वाचन आचारसंहिताबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको रकेट उडिसकेकोले त्यसलाई यताउता गर्नै नसकिने बताए ।

उनले आयोगले ३० जिल्लाको मतपत्र छापिसकेको, निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा निर्वाचन सर्ने कुरा सोच्नै नसकिने स्पष्ट पारे ।

उनले भने ‘३० जिल्लाको त मतपत्र नै छापिइसकेको छ, आजको अवस्थामा जहाज पनि होइन त्यो । एकछिन रोक्न पनि सकिएला, अर्को एयरपोर्टमा लैजान सकिएला, अहिले त निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्था हो, यस्तो बेलामा निर्वाचन भएन भने हामीले होइन, लोकतन्त्रले नै हार्छ ।’

निर्वाचनको समयमा मिडियाबाट पनि भ्रामक कुरा आउनसक्ने भएकोले पत्रकारहरूले तथ्यमा रहेर समाचार लेखिदिनु पर्ने बताए । साथै निर्वाचनप्रति जनविश्वास घटाउने जोखिम रहेको र धमिलो पानीमा माछा मार्न सकिन्छ भन्ने प्रवृत्ति बढेको बताए ।

प्रमुख आयुक्त थपलियाले आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितब्ययी निर्वाचन गराउन केन्द्रीत भएको बताए । अघिल्लो स्थानीय तह निर्वाचनबाट ४१ प्रतिशत महिलाको पहुँच कायम भएकोले आयोगको यसपटक त्यसलाई ४५ प्रतिशत पुगोस भन्ने चाहना रहेको उनले बताए ।