• बैशाख २२ २०८३, मंगलवार

अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

चैत्र २८ २०७८, सोमबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गरिने बताएका छन् ।

समाजवादी प्रेस संगठन पर्वतले सोमबार विहान कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा २०७४ सालको स्थानीय तह निर्वाचन अनुसार सिट बाँडफाँट हुने बताए ।

‘एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्नेछ,’ उनले भने, ‘एमाले त्यागेर हाम्रो पार्टीमा आउनेहरूको लर्को लागेकाले आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्छ ।’

अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुंगाउने भन्ने मोडालिटिको बारेमा छलफल भइरहेको अध्यक्ष नेपालले बताए । उम्मेदवार छनोटको मोडालिटी तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको उनको भनाइ छ ।

‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ, संघीयता र लोकतन्त्र नै समाप्त पार्ने प्रवृत्तिविरुद्ध हामी साझा लडाइँमा छौं,’ उनले थपे, ‘उम्मेदवारबारे हामी छलफलमा छौ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।’

अध्यक्ष नेपालले नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दलहरू बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने सुझाव दिए । तर, अहिलेको अवस्था सिर्जना हुनुको मुख्य दोषी ओली नेतृत्वको सरकार रहेको अध्यक्ष नेपालले आरोप लगाए ।

‘अहिले अर्थतन्त्रमा देखिएको समस्याबारे, देशको प्रगतिको बाधकबारे सबै बसेर छलफल गर्नु आवश्यक छ,’ अध्यक्ष नेपालले भने, ‘अर्थतन्त्रको यो हालत हुनुको कारण भनेको केपी ओली नेतृत्वकै सरकार हो ।’

अधिनायकवादी प्रवृत्तिले लोकतन्त्र र संघीयता मात्रै नभएर अर्थतन्त्रलाई पनि संकटमा पारेको उनको आरोप छ ।