काठमाडौं । आसन्न वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि पाँच दलहरू संयुक्त रूपमा चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा (राजमो) संयुक्त रूपमा चुनावमा उत्रिने भएका हुन् ।
चैत १७ मा पाँच दलीय चुनावी गठबन्धन गर्ने निर्णय भएको छ । उक्त निर्णयका आधारमा गठबन्धन दलहरूको पल्लाभारी भोट पार्न शीर्ष नेतादेखि कार्यकर्तासम्म देश दौडाहामा निस्केका छन् । उनीहरू आफ्नो पक्षमा जनमत सृजना गर्न गोडेबल लगाउँदै आएका छन् ।
यद्यपि कांग्रेस नेता डा.शेखर कोइराला भने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसबाट संस्थागत रूपमा सत्तारूढ दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेको भए पनि विगतदेखि नै विपक्षमा उभिएका उनी अझै पनि विपक्षमै देखिएका छन् । कांग्रेससँग माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका अन्य दलले उसको निर्णयपछि विभिन्न जिल्लामा धमाधम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक गरिसक्दा समेत कोइरालाले भने गठबन्धनविरुद्ध खबरदारी गरेका हुन् ।
गत बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले तालमेलभित्रको आवश्यकता, औचित्य र स्थानीय तहलाई नै उम्मेदवार छनोट गर्न दिनुपर्ने अडान राखे । केन्द्रीय समितिमा आफूहरू बहुमत सदस्यबाट पेलिएको समेत उनले गुनासो गरे ।
कोइरालाले आउँदो चुनावमा अन्य दलसँग गठबन्धन भए अप्ठेरो हुने बताए । केन्द्रीय समितिको बैठकले तालमेल गर्न सकिनेछ भन्ने मात्रै निर्णय गरेकाले आवश्यकता र औचित्यका आधारमा जिल्ला र क्षेत्रलाई त्यसको अधिकार दिनुपर्ने बताए ।
‘हामीले गठबन्धन गर्नु हुँदैन नेपाली कांग्रेस एक्लै लड्नुपर्छ भनेर भन्यौं, हामी त प्रतिशतको हिसाबले धेरै कम छौं केन्द्रीय समितिमा,’ कोइरालाले भने, ‘गठबन्धन नै गरेपछि तालमेल गर्ने भनेको छ, कन्फ्युजन नहुनुहोस्, आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने भनेको छ, नेपाली कांग्रेसका कार्यकर्ताहरूले फेरि विरोध गरे भने त अप्ठेरो हुन्छ नि त, त्यसले सत्ता गठबन्धनलाई पनि त अप्ठेरो पार्छ ।’
त्यस्तै हिजो (शनिबार) चितवनको भरतपुर महानगरपालिकामा स्थानीय तहको निर्वाचनको लागि महानगरपालिकामा चुनावी गठबन्धन नहुने बताएका छन् । जिल्ला कार्यसमिति चितवनको निर्णय बुझ्दै नेता कोइरालाले भरतपुरको मेयरमा कांग्रेस एक्लै भिड्नुपर्ने बताएका हुन् ।
केन्द्रमा पनि कोइराला र उनीनिकट नेताहरूले गठबन्धनको विपक्षमा धारणा राख्दै आएका छन् । यसअघि नै चितवन जिल्ला कार्यसमितिले भरतपुर महानगरको मेयर कांग्रेसलाई दिने भए अन्त चुनावी तालमेल गर्न सकिने निर्णय लिएको थियो ।
चितवन र भरतपुर महानगरपालिकामा कुनै पनि दलसँग तालमेल नगर्न र कांग्रेसकै उमेदवारलाई मेयरको टिकट दिनुपर्ने मागसहितको निर्णय कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र दिनेश कोइराला तथा चितवन कांग्रेस सभापति राजेश्वर खनालले शीर्ष नेताहरू समक्ष माग राखेका छन् ।
माओवादी केन्द्रलाई मेयर दिन नसकिने निर्णयसहितको माइन्यूट उनीहरुले यसअघि सभापति शेरबहादुर देउवालाई पनि बुझाइसकेका छन् । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई जिताएको थियो ।
यसरी कांग्रेस नेता डा.शेखर कोइराला र उनीनिकट नेताहरू पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा पाँच दलीय चुनावी गठबन्धन विरोधी अभिव्यक्ति दिदा पनि शीर्ष नेतृत्व मौन छन् । चैत १७ गते बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठकले गरेको निर्णयविपरीत कोइराला र उनीनिकट नेता–कार्यकर्ता मनमौजी बोलिरहेका छन् ।
२२ भन्दा धेरै जिल्लामा पाँच दलीय चुनावी गठबन्धन भइसक्दा पनि उनीहरूले गठबन्धन विरोधी अभिव्यक्ति अभिव्यक्त गर्न छाडेका छैनन् । हालसम्म चुनावी गठबन्धन भएका जिल्लाहरूमा गठबन्धन विरोधी गतिविधि र अभिव्यक्ति अभिव्यक्त गर्न नपाइने निर्णय गरिएको छ । तर, कांग्रेस शीर्ष नेताहरूले नै विरोधी गतिविधि र अभिव्यक्ति दिनुले चुनावी मत परिणाममा असर नपर्ला भन्न सकिँदैन ।
तथापि यस विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल लगायतका अन्य दलका शीर्ष नेताले चुनावी गठबन्धनबारे विरोधी गतिविधि र अभिव्यक्ति दिँदै आएका कांग्रेस नेताहरूप्रति कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।