• बैशाख २२ २०८३, मंगलवार

ओलीलाई खनालको जवाफ- एमाले क्वीन्टल भए नेकपा (एस) टनको को पार्टी हो

चैत्र २६ २०७८, शनिबार

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकामा आपत्ति जनाएका छन् । केही दिनअघि ओलीले एमाले क्वीन्टलको ढक हो भन्दै अरु पार्टीलाई किलोको ढक भनेका थिए ।

शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले अहिले आफ्नो पार्टी दशौं टनको बनेको दावी गरे। उनले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्लाजिल्लामा जान ओलीलाई चुनौति समेत दिए।

‘केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीलाई चाँही ढक। म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईको पार्टी ढक हो कि तपाईको पार्टी क्वीन्टल हो कि एकीकृत समाजवादीचाँही टन हो, यहाँ आएर हेर्नुहोस्। प्रत्येक जिल्लामा गएर हेर्नुहोस्,’ उनले भने, ‘अब नेकपा एकीकृत समाजवादी टन मात्रै होईन, दशौं टनको पार्टी बन्दैछ। यो कुरा केपी ओलीले बुझ्न जरूरी छ। हामी पनि यो निर्वाचनमा जाँदैछौं।’

सम्मानित नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे। उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए।