काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले अर्थतन्त्र जोगाउन लागिपरेको व्यक्तिलाई कारबाही गरेको भन्दै सरकारको आलोचना समेत गरे।
शनिबार काठमाडौंको तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, अर्थशास्त्री, राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर गभर्नर भएका र अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो ।थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौं भएको मुसाले कपाकप धान खायो । उसैले रौं नभएकालाई कारबाही भयो।’
गर्भनरमाथि छानबिन गर्न माओवादी भनेर जानिएको व्यक्तिको नेतृत्वमा समिति बनाइएको आरोप पनि ओलीले लगाएका छन् ।
‘माओवादीले नियुक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनायो । माओवादी भनेर जानिएको मान्छे,’ ओलीले भने, ‘अहिले अदालतको अवस्था कस्तो छ ? देखिरहनुभएकै छ नि ! मैले यसमा थप भनिरहन आवश्यक छैन ।’
उनले देशको नेतृत्व निर्लज्ज व्यक्तिहरूको हातमा पुगेको पनि टिप्पणी गरे ।