काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष नेपाललाई यस्तो चुनौती दिएका हुन् ।
अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, ‘माधव नेपाल र उनी नेतृत्वको पार्टी २२/२३ सिट ल्याउने हुति भएको पार्टी हो ? अब तीन सिट ल्याएर देखाउन त । पार्टी भित्रको कुरा दिइयो खुरुखुरु साथीहरुलाई । अहिले त जसले दौडेर भित्तो छुन्छ त्यो मन्त्री भन्ने प्रतिष्पर्धा पो भयो त । प्रचण्डको ५४/५४ सिट आउने हो चुनावमा । चारवटा सिट आउँदैन भनेर हामीसँग मिल्या होइन !’
उनले थपे, ‘यो हिजोको चुनावको परिणाम हो । अब आजको चुनावको परिणाम होइन । म साथीहरुलाई भन्न चाहन्छु, अब वैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन् । त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले ।’