• बैशाख २२ २०८३, मंगलवार

अमेरिकाबाट आएको करोडौँ रुपैयाँ फुकुवा गरिदिन राष्ट्र बैंकका सदस्यले बार्गेनिङ गरे : अर्थमन्त्री शर्मा

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहकाे खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन्।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताएका हुन्।

उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप समेत लगाए ।

कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्याइन्छ भन्ने उनको प्रश्न थियो । यस्ता कुराले अनुशासन हुँदैन भन्दै मन्त्री शर्माले रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम भएको आरोप लगाए ।

”राष्ट्र बैंकमा बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको तर आधिकारिक कुरा मलाई थाहा छैन” उनले भने । यस्ता कुराहरु राष्ट्र बैंकका उच्च अधिकारीहरुले सच्याउनु पर्ने उनले बताए ।

यस्तै अर्थमन्त्री शर्माले नेपाल र श्रीलङ्काबीच तुलना हुन नसक्ने बताए । उनले श्रीलङ्का र नेपालको ऋण, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सायताको कुरालाई हेर्दा समेत तुलना हुन नसक्ने उनको भनाइ थियो। मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलङ्का बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताए । सरकारले बनाएका नीतिमा नै समस्या रहेको उनले बताए । नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भ्रष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नुपर्ने उनले बताए।

मन्त्री शर्माले देशको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धको कारण थप समस्या आएको स्वीकार गरे । उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव पारेको बताए । नेपालको अर्थतन्त्रमा पछिल्लो समय अत्यधिक, पेट्रोलियम पदार्थको आयात, अनावश्यक विलासिताका वस्तु चाहिनेभन्दा बढी गाडी आयात गरेकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ।