रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर मगर संघ रुपन्देहीले आपत्ति जनाएको छ ।
अध्यक्ष ओलीले प्रथम शहीदबारे दिएको अभिव्यक्तिलाई लिएर मगर संघ जिल्ला समिति रुपन्देहीले आपत्ति जनाएको हो ।
गत हप्ता काठमाडौंमा नेपालका प्रथम शहीद लखन थापा मगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर हुन् भनेर दिएको अभिव्यक्तिको मगर संघ रुपन्देहीले भत्र्सनासहित विरोध जनाएको छ ।
नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर वीरकट्टा मगरले ओलीले सार्वजनिक रूपमा तत्काल भनाइ फिर्ता लिनुपर्ने माग गरे । ओलीले अभिव्यक्ति फिर्ता नलिए देशैभरका मगरहरू मगर संघको आह्वानमा सशक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
‘विक्रम संवत् २०५६ सालमा शहीद र विक्रम संवत् २०७२ असोज २ गतेको मन्त्रिपरिषद्को निर्णयले प्रथम शहीद घोषणा गरिसकेको भन्दै उनले भने ‘प्रथम शहीद होइन भन्नु गैरजिम्मेवार, असंवैधानिक र साम्प्रदायिकताबाट प्रेरित छ ।’