उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या भएको छ । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घरबाट स्कुल आउँदै गर्दा उनको क्रुर हत्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य नारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् ।
बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् । सरिता र कविता कोशी जनतामासँगै अध्ययनरत थिए ।
सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुईजना मिलेर ढुंगाले हिर्र्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।