काठमाडौँ। सत्ता गठबन्धनले आगामी स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो। उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु रहनेछन् ।
समितिमा कांग्रेसका महामन्त्री गगन थापा, सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र नेतृ रेनु यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल संलग्न छन् ।
यस्तै बैठकमा सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।
चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि भने प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने बाताइएको छ।