काठमाडौँ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक करोड ९४ लाख थान मतपत्र छपाइको काम सुरु भएको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइको काम सुरु भएको जानकारी दिए ।
मतपत्रमा सबैभन्दा धरै काठमाडौँको मतपत्र ५६ लहरको हुने र सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुने प्रवक्ता शर्माले बताए । उनले भने, ‘स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा सुरु भएकाे छ । कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।’
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । आयोगले निर्वाचन सम्बन्धित विभिन्न प्रशिक्षणहरू देशका विभिन्न ठाउँमा सम्पन्न गरेको पनि जानकारी दिएको छ ।