• बैशाख २२ २०८३, मंगलवार

हिन्दू राष्ट्रको माग गर्दै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गर्यो गोेष्ठी

चैत्र १९ २०७८, शनिबार

धनगढी ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ ।

कैलालीको धनगढीमा आयोजित गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयमसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस् भन्ने आग्रह समेत गरिएको थियो ।

गत भदौ ३ गते पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना, हिन्दू स्वयमसेवक संघका जिल्ला संघचालक हिरा कँडेल र व्यवसायी तथा समाजसेवी गोपाल हमाल सहितको आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रताप बुढाद्वारा राखिएको थियो भने कार्यक्रमको संयोजकत्व कैलाश दाहाले गर्नु भएको थियो ।

मन्तव्य दिंदै बुढाले समाजको हरेक क्षेत्रमा असल व्यक्तिको आवश्यकता रहेको जनाउँदै राम्रो चरित्र र धैर्यधारण गर्न सके मात्र परिवर्तन सम्भव हुने बताउनु भएको थियो । व्यवसायी तथा समाजसेवी गोपाल हमालले धर्म बारे गलत प्रचार बढी भएको बारे चर्चा गर्दै हिन्दुहरूलाई संगठित हुनुपर्नेमा जोड दिनु भयो ।

यसैगरि जिल्ला संघ चालक हिरा कँडेलले समाजमा अझैपनि जातीय संकीणर्ता कायम रहेको तथा धर्म बारे कुरा गर्दा आफू तल पारिन्छ भन्ने गलत मानसिकता हावी रहेको चर्चा गर्नु भयो ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनाले देउडा, गौरा जस्ता साँस्कृतिक तथा धार्मिक पहिचान रहेको सुदूरपश्चिमले आफ्नो अखण्डता जोगाउन लागिपरे जस्तै अहिले हिन्दुत्वकालागि लाग्नुपर्ने बेला आएको बताउनु भएको थियो । शासन व्यवस्था जुन सुकै भए पनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्दै उनले संविधानमा नलेखे पनि पहिचान र जनसङ्ख्याको आधारमा नेपाल स्वयमसिद्ध हिन्दु राष्ट्र रहेको दाबीसमेत गरे ।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले बाह्य प्रभाव र केही अज्ञानतावश नेपाल धर्मनिरपेक्ष भएको तर्क प्रस्तुत गर्दै यसैकारण अनेकौं गल्ती भइरहेको बताउनु भयो ।

विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भए पनि ११० करोड आवादी भएको हिन्दु राष्ट्र खोई ? भन्ने प्रश्न गर्दै उहाँले विन्ती र विद्रोह गर्न कसैले छेक्न नसक्ने दावीसमेत गरे ।

समाजको विभिन्न क्षेत्रबाट सहभागी उक्त कार्यक्रमलाई आभार प्रकट गर्दै आमन्त्रित अतिथि तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन संयोजक कैलाश दाहालद्वारा गरिएको थियो ।