• बैशाख २२ २०८३, मंगलवार

पेट्रोलियम पदार्थ आपूर्तिको समस्या हल गर्न कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशन

चैत्र १९ २०७८, शनिबार

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मन्त्री खाँणले आपूर्ति सचिव गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् । उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने चेतावनी पनि दिएका छन् ।

व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफू हरुलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए । ‘पेट्रोलियम पदार्थ बिक्री वितरण भए/नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पहरूमा अनुगमन गर्न निर्देशन भएको थियो,’ कार्यवाहक महानिर्देशक गोइतले भने, ‘सरकारको निर्देशनअनुरुप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरेका छौं । केहीले बेचेको, केहीले नबेचेको पायौं । भोलि थानकोटको डिपो खुल्ला हुन्छ । त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौं ।’

आज साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले जानकारी दिए ।

डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको बताए । ‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरी टुंग्याउन निर्देशन दिनुभएको हो,’ अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौं भन्यौं। ‘

व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनु पर्ने, डिजेल पेट्रोल बोक्ने ट्यांकरको भाडा बढाइनु पर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।