• बैशाख २६ २०८३, शनिबार

जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा,सबै पक्ष जिम्मेवार भएर सोच्नुपर्छ : मुख्यमन्त्री राउत

चैत्र १८ २०७८, शुक्रबार

जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा परेको भन्दै कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।

साथसाथै संस्थाले शुक्रवार जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलामा पारेको प्रभाव विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण महिला बढी जोखिममा रहेकाले त्यस विषयमा सबै पक्ष जिम्मेवार भएर सोच्नुपर्ने बताए ।

आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा महिलाको सहभागिता बढाउन सकिए महिलामाथि हुने हिंसा र अन्यायमा कमी ल्याउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री राउतले महिलाको सबै निकायमा सहभागिता सुनिश्चितता गर्न प्रदेश सरकारले आरक्षणको व्यवस्था गरेको बताए ।

सामाजिक बनोट, पुरातनवादी चिन्तन र पितृसत्तात्मक सोचका कारण अझै महिलाको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पहुँच पुग्न नसकेको जिकिर गर्दै मुख्यमन्त्री राउतले सबैले आफ्नो पुरानो सोच र चिन्तनमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए ।

मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या हुनु र वन जंगलको क्षेत्रफल कम हुनु चिन्ताको विषय भएको चर्चा गर्दै उनले चुरे क्षेत्रमा हुने बालुवा, गिट्टी, ढुंगाको उत्खननलाई नियन्त्रण गर्ने निकायको भूमिका फितलो भएका कारण तराई मधेश क्षेत्र बढी जोखिममा परेकोे औंल्याए ।

‘एकातिर तीव्ररूपमा वन फँडानी, चुरेको दोहन र गिट्टी, ढुंगाको उत्खनन भइरहेको छ भने अर्काेतिर त्यसलाई नियन्त्रण गर्ने, कानूनी कार्यान्वयन गर्ने निकायको भूमिका फितलो छ,’ मुख्यमन्त्री राउतले भने, ‘जसका कारण तराई मधेशमा पानीको हाहाकार देखिन थालेको, उत्पादन घट्दै गएको र बर्सेनि बाढीको समस्या बढ्दै गएको छ ।’ त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले चाहेको भए पनि नियन्त्रण गर्न नसकेको उनको भनाइ थियो ।