काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि छिमेकी मुलुक भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित ५० जनाको जम्बो टोली लिएर प्रधानमन्त्री देउवा केहीबेर अघि भारत प्रस्थान गरेका हुन्।
देउवाको भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा ,सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्।
प्रस्थान अघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए ।
उनी भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नेछन् ।
प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।
त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।