काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएकाे आरोप लगाएका छन् ।
जुम्ला र कालिकोट जाने क्रममा आज दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाएका हुन् ।
उनले आफू नेतृत्वको सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गरे पनि वर्तमान सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भएको उनको आरोप छ।
उनले निर्वाचनपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाएर स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्ने आश्वासन दिए।
अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । साे क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएकाे उनकाे भनाइ थियाे । उनले त्यसबेला बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे।