• बैशाख २४ २०८३, बिहीबार

पल प्रकरण : उच्च अदालतले माग्यो तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन

चैत्र १६ २०७८, बुधबार

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह मुछिएको बलात्कारसम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

मंगलबार पलका तर्फबाट कानुन व्यावसायीले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका थिए । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको छ ।

तनहुँ जिल्ला अदालतको यही चैत १० गतेको आदेशले पल जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै निवेदन परेको र निवेदनपछि बुधबार जिल्ला अदालत तनहुँको कैफियत प्रतिवेदन माग गरिएको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

पलका कानुन व्यावसायीले धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेका छन् ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी गैँडाकोटमा एक गायिकाले प्रेमको झुटो नाटक गरेर पटक–पटक आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

पलविरुद्ध तनहुँ प्रहरीमा गएको फागुन ११ गते उजुरी परेको थियो । उजुरीपछि पल फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आफैँ उपस्थित भएका थिए ।

पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।