काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका छन् ।
बुधवार भक्तपुरको सूर्यविनायकमा आफ्नै लगानीमा खुलेको तरकारी बजार उद्घाटनका क्रममा प्रसाईंले आगामी चुनावमा ती दुई कम्युनिस्ट पार्टीले एक सीट जिते आफ्नो सबै सम्पत्ति दान गरेर वृन्दावन जाने बताएका हुन् ।
‘अरूको त भन्दिन, माओवादी र अर्को एस कि के भन्ने नक्कली कम्युनिस्ट पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एकमात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर वृन्दावन जानेछु,’ प्रसाईँले भने।
उनले नेकपाको सरकार ढालेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अनैतिक साँठगाँठमा लागेको आरोप लगाए ।
प्रसाईंले भने,‘गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समात्दै राजनीतिको वैतरणी तर्न खोज्ने प्रचण्ड र माधव नेपाल चुनावपछि कहाँ हुनेछन्, केपी ओलीले बनाएको धरहराको बादर्लीबाट हेर्नु पर्नेछ,’ प्रसाईंले भने ।