• बैशाख २२ २०८३, मंगलवार

भरतपुरको मेयरमा हाम्रो दावी छ : प्रचण्ड

चैत्र १६ २०७८, बुधबार

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा माओवादीको दावी कायमै रहेको बताएका छन्।

चितवनका कांग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा प्रचण्डले भरतपुरमा आफूहरुले नछाड्ने बताएका हुन्।

उनले भोलि बस्ने गठबन्धनको बैठकले महानगरको विषयमा तालमेलको निर्णय हुने जानकारी दिंदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको नै दावी रहने बताए।

विभिन्न उद्घाटन र शिलान्यासका कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताए। कांग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय सकारात्मक भएको उनको भनाइ छ।

‘नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकले गठबन्धन गर्ने कुरा टुंगो लगाएको छ। अब कुन पालिकामा कसलाई समर्थन गर्ने भन्ने कुरा बसेर टुंगो लगाउँछौं’ उनले भने, ‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिरहेको छ, भोलि हामी गठबन्धनको बैठक बस्दैछौं।संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं। तालमेलकै निर्णय हुन्छ। भरतपुर चितवनमा हाम्रो दावी छँदैछ।’