• बैशाख २४ २०८३, बिहीबार

शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव

चैत्र १५ २०७८, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव पेश गरेको छ | इन्धनको खपत घटाउनका लागि दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुंदे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । निगमले बिदा दिने, छोटो दुरीका सवारी साधनको सकभर प्रयोग नगरि पैदलयात्रा गर्ने र जुनसुकै किसिमका सवारी साधनमा पूर्ण सिट क्षमतामा यात्रु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिएको छ । यसरी सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

त्यस्तै निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ ।

जोर बिजोर प्रणाली हुदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।

पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।