• बैशाख २२ २०८३, मंगलवार

स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

चैत्र १५ २०७८, मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतीका आधारमा आवश्यक्ता र अवस्था हेरेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । मंगलबार सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपश्चात कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यक्ता र अवस्थाका आधारमा आगामी स्थानीय तह निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय भएको बताए ।

उनका अनुसार यसअघि निर्वाचनका सवालमा पार्टी दुई भागमा विभाजित भएको भनिएपनि मंगलबारको बैठकले त्यो पूर्ण रुपमा चिरेको छ ।मंगलबारको बैठक जीवन्त भएको र सबैले निर्धक्कपूर्ण आफ्नो विचारहरु पेश गरेको उनले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको पनि उनले जानकारी दिएका छन्। उनका अनुसार बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति पनि गठन गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ भने प्रवक्ता डा. महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।