धनुषा । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् ।
चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न खोजेपछि पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाममा व्यक्तिले कब्जा गरेर विक्री गरेको विषयमा छानबिनका गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको हो । उनीहरूले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या समाधान गर्नका लागि समेत माग गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निषेधित क्षेत्र तोडेरभित्र कार्यालयभित्र प्रवेश गर्न खोज्दा पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।
अभियानका संयोजक सुनिलकुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेसका भूमिहीनहरूलाई भूमिप्रतिको अधिकार दिने भनेर पटक-पटक गरेको प्रतिबद्धता कार्यान्वयन नगरेकाले आफूहरू आन्दोलनमा उत्रिएको बताए ।