काठमाडौं । विस्तारका क्रममा रहेको ललितपुरको ढोलाहिटी–लेले सडक निर्माणको काम चैतसम्ममा पनि नसकिने देखिएको छ । अन्तिम पटक कोभिड-१९ का कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भए पनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा अझै निर्माण पूरा नहुने देखिन्छ ।
केही दिन पहिले मात्रै सुनाकोठी सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिले सडकमा प्रदर्शन गरेका थिए । सडकका विभिन्न खण्डमा सडक खाल्डाखुल्डी हुँदा यातायात आवागमन असजिलो भएको भन्दै स्थानीयवासीले पटक–पटक चाँडो निर्माण गर्न माग गर्दै आएका छन् ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजना स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको बताएका छन् भने स्थानीयवासीले आयोजनाले विभिन्न बहानामा ढिलाइ गरेको आरोप लगाएका छन् ।
सडककै कारण दैनिक जोखिमयुक्त यात्रा गर्न परिरहेको चापागाउँकी सुमित्रा अधिकारीले बताइन् । पछिल्लो चार–पाँच वर्षयता आफू पटक–पटक स्कुटरबाट लडेर घाइते भएको उनले बताइन् ।
सडकमा भइरहेको अवरोधका कारण गन्तव्यमा पुग्न धेरै पटक ढिलाइ भएको उनले सुनाइन् । अघिल्लो वर्ष सडक बन्न सुरु भएकाले अब सजिलो हुने आशा गरेकी उनी पुनः सडकको उही हालत देख्दा दिक्क छिन् । ‘१०/१५ वर्षसम्म पनि सडक सुध्रेला जस्तो लागेन’ अधिकारी निराश देखिइन् ।
सडकमा निर्माणको काम गर्न पाउँदा निर्धारित अवधिमा काम सम्पन्न गर्न समस्या नभए पनि निर्माणस्थल खाली नहुँदा अझै लामो समय लाग्नसक्ने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । उनका अनुसार सडकको समस्या समाधानकै लागि जनप्रतिनिधिसँग पटक–पटक बैठक भए पनि त्यसले निष्कर्ष निकाल्न सकेको छैन ।
एक पटक सहमति भयो भनेर काम गर्ने भन्यो तर काम गर्न थालेपछि समस्या आउने गरेको उनले बताए । सुनाकोठीमा पहिले निर्माण भएको खण्डमा रोलर प्रयोग हुन नपाएकाले सम्पन्न नहुँदै कालोपत्र उप्केको थियो । अहिले पनि सो स्थानमा रोलर चलाउन स्थानीयवासीले अनुमति दिने अवस्था छैन । केही समय पहिले आयोजनाले रोलर नै चलाउन नपर्ने गरी ढलानको ठेक्का निकालेको प्रमुख ओझाले बताए ।
‘पहिले सूचना निकाल्दा कसैले पनि आवेदन नदिएको पुनः सूचना निकालिएको छ’ उनले भने । ढलानका लागि पुनः गरिएको सूचनामा आवेदन नपरेमा आयोजना आफैँले सामान्य मर्मत गर्ने प्रमुख ओझाले बताए । उनका अनुसार आयोजनाले सामान्य खाल्डा टाल्ने काम मात्रै गर्नसक्छ । सुनाकोठीमा सडक निर्माण गर्नुपर्ने दुई खण्डमध्ये एउटा खण्डमा कालोपत्र र अर्कोमा ढलान गरिनेछ । पहिले कालोपत्र गरिएको खण्डमा सडक बिग्रिएकामा पुनः गर्न लागिएको हो । सुनाकोठीको भित्री बस्ती क्षेत्रमा पर्ने यी दुबै खण्डमा काम गर्न सजिलो नभएको आयोजना प्रमुख ओझाले बताए ।
चालू ठेक्कामा निर्माण व्यवसायीले काम गर्दा पहिले विग्रिएको ठाउँमा मर्मत गर्ने उनले जानकारी दिए । ‘पहिले सम्पन्न भइसकेको ठेक्कामा नयाँ ठेक्कबाट गर्नुपर्छ’ उनले भने ।
सुनाकोठीका खाल्डा बढी बढी भएको खण्डमा अहिले मर्मतको काम एक सातामा सकिने आयोजनाले जनाएको छ । सडक विस्तारका घर भत्काउन, विस्तार र नाली राख्नका लागि सो खण्डमा ठाउँ नदिइएकाले जति उपलब्ध छ त्यतिमा नै कालोपत्र गर्ने उनले बताए । ‘सकेसम्म यही महिनाभित्रमा पिच गरिसक्न लागेका छौँ’ उनले भने ।
ढोलाहिटी–लेले सडक ठाउँ ठाउँमा निर्माणको काम बाँकी छ । खासगरी बस्ती क्षेत्रमा बढी समस्या रहेको आयोजना प्रमुख ओझाले बताए । विस्तारका लागि ठेक्का भए पनि सुनाकोठी–चापागाउँ खण्डमा विस्तारको काम गर्न नसकिएको आयोजना प्रमुख ओझाले बताए । चापागाउँबाट टिकाभैरबसम्म जङ्गल क्षेत्रमा निर्माणको काम झण्डै अन्तिम चरणमा छ ।
‘केही खण्डमा समस्या भए पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ’ उनले भने । ढोलाहिटी–लेलेसम्मको सडक चैतसम्मको अवधि भए पनि काम गर्न नपाउँदा अवधि थप चाहिन सक्छ । विगतमा पटक–पटक अवधि थप भएकामा पनि निर्माण कम्पनीले काम गर्न नपाएका कारण पुग्दा अवधि थपिन सक्छ ।