काठमाडौं । स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको हो।
स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउँछन्।
राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दलहरुले भने आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले ती दललाई कुन कुन जिल्लामा संगठन संरचना छ भनी जिल्लागत विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाइसकेको आयोगले जनाएको छ।