• बैशाख २२ २०८३, मंगलवार

निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठ गर्‍यो : अध्यक्ष ओली

चैत्र १३ २०७८, आईतवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी आयोगले काम गरिरहेको बताएका हुन् ।

‘दलहरुसँग परामर्श नगरी रंग बदल्ने, एउटा दलविशेष वा सत्तारुढ दललाई फाइदा पुग्ने गरी मतपत्रको रंग परिवर्तन गर्नु बेठीक कुरा हो,’ उनले भने, ‘विगतमा पनि हामी निर्वाचन आयोगबाट पीडित छौं । आयोगबाट यस्ता क्रियाकलाप नहोस् । यस्ता कुरामा हामीले आयोगको विरोध गर्नुपर्छ । सत्तापक्षको फाइदाका लागि आयोग अनुचित कुरामा फाइदा लिएर काम गरिरहेको छ ।’

अध्यक्ष ओलीले हिजो विभिन्न साधनस्रोत नहुँदा उम्मेदवारी दर्ताका लागि १ दिनमात्रै समय दिने गरेको स्मरण गराउँदै अहिले सत्ता गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङयुक्त काम गरिरहेको आरोप समेत लगाए ।

उनले आफूहरु निष्पक्ष, तटस्थ र स्वतन्त्र आयोग देख्न चाहेको भन्दै बेठीक काम गरेर अगाडि बढिरहनु खेदजनक रहेको बताए । ‘निष्पक्ष, तटस्थ र स्वतन्त्र आयोग देख्न चाहन्छौं । हरेक पार्टीले आयोगमाथि विश्वास गर्न सकुन् । तर सेटिङयुक्त काम गरिरहेको छ । आयोग बेठीक काम गरेर खुरुखुरु अगाडि बढिरहेको छ,’ उनले भने,’ निष्पक्ष निर्वाचन गर्नुपर्ने आयोग गलत तबरले हिँड्नु खेदजनक कुरा हो । यतातिर सजक हुनुपर्छ ।’

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ।