सर्लाही । सर्लाही जिल्लाको धन्कौल गाउँपालिका- ५ मा भीषण आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ ।
शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।
दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरुभएको प्रत्यक्षदर्शीले बताए । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो ।
आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए । वडाध्यक्ष महतोको अनुसार आगलागीबाट अधिकांश फुसको छानो भएका कच्ची घर जलेका छन् ।