• बैशाख २२ २०८३, मंगलवार

कांग्रेस, एमाले र माओवादीलाई जिताएर ‘देश बन्छ’ भन्नु मुर्खता : अध्यक्ष लिङ्देन

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई जिताएर ‘देश बन्छ’ भन्नु मुर्खता भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ३१ वर्षसम्म काँग्रेस, एमाले र माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर ‘देश बन्छ’ भन्नु मुर्खता भएको बताएका हुन् ।

अध्यक्ष लिङदेन नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् ? भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरोपसमेत लगाएका छन् । उनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट दिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने बताए ।

अध्यक्ष लिङदेनले भने ‘आउने चुनावमा जानी–जानी यस्ता भ्रष्ट नेताहरुलाई भोट नदिनुस् भन्न आएको हो । तपाईले खुकुरी, तरवार चलाएको भन्दा ठूलो सजाय त्यही हुन्छ । गन्दा थाहा पाउन्, बर्बाद भएछ । हामी सामान्य नागरिक भएर सोचौँ, कुनै दलको व्यक्ति भएर होइन । यिनै नेता यिनै पार्टी भनौँ, त्यति भन्दा तपाईले बुझिहाल्नु हुन्छ, दिनमा १२ पटक राजेन्द्रले हाम्रो नाम लिएर बसिरहेको छ भन्लान् । पाँच औँलाभन्दा बढ्ता छैनन् ।’

उनले थपे , ‘नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ ? बडो आदारपूर्वक भनौँ, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देशबन्छ ?’

त्यस्तै अध्यक्ष लिङ््देनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गरे । उनले काँग्रेस, एमाले र माओवादीप्रति लक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने बताए । अध्यक्ष लिङदेनले मुलधारमा रहेको पार्टीहरुको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिएपनि उनीहरुले देश नबनाउने दाबी गरे ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौं महानगरको जिम्मा दिएर हेर्न पनि आग्रह गरे।