• बैशाख २२ २०८३, मंगलवार

ओलीको दावी- एमालेसँग कसैले पनि प्रस्तिस्पर्धा गर्न सक्दैन

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् ।

प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको उनले बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए ।

ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने, ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’

ओलीले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा नभएको बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।

‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौ भन्ने होला । नेपालमा किन रेल कुदायौ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्साङ्कन किन गरियो भन्ने होला ?’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ ।