• बैशाख २२ २०८३, मंगलवार

ओलीको प्रतिवेदन- ‘स्थानीय निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह’

चैत्र ९ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनलाई जनमत संग्रह भनेका छन्। बुधबारबाट जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले जनादेश र परमादेश बीचको जनमत संग्रहका रुपमा आगामी निर्वाचन हुन लागेको बताएका हुन्।

अध्यक्ष ओलीले २१ पेज लामो प्रतिवेदनमा भनेका छन्, ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदैछैन । यो त जनादेश र परमादेशबीचको जनमत सङ्ग्रहका रूपमा हुँदैछ ।’

त्यस्तै उनले राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि ‘कम्फर्टेबल ’ हरूका बीचमा निर्वाचन हुने भन्दै राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरू बीचको लडाइका रुपमा पनि निर्वाचनलाई हेर्नुपर्ने बताएका छन् ।

‘समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दन बीचको छनोटका रूपमा हुँदैछ । यस निर्वाचनमा एकातिर जनताको विश्वासप्राप्त, गत निर्वाचनमा जनादेशप्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दागर्दै षडयन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको नेकपा (एमाले) छ, अर्कातिर निर्वाचनबाट किनारा लागेर पनि अदालतको जस्केलाबाट छिरेको दक्षिणपन्थी शक्ति तथा तिनका सहयोगी दलहरू छन्’ ओलीले भनेका छन् ।

उनले संवैधानिक कर्तव्य र स्वेच्छाले नभई जनदवावका कारण चुनावको मिति घोषणा गर्न बाध्य भएकोले सरकारको निर्वाचन प्रतिको प्रतिबद्धता पनि फितलो भएको बताएका छन् । ‘तसर्थ निर्वाचनलाई तोकिएकै मितिमा, शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न चनाखो भएर खबरदारी गरिरहनु जरूरी छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन् । उनले तेस्रो चरणमा निर्वाचन भएका पालिकाका जनप्रतिनिधिमार्फत पाँचवर्षे कार्यकालको विवाद झिकेर अदालतमा रिट दायर गर्दै निर्वाचनलाई पर धकेल्ने असफल प्रयाससमेत भएको बताएका छन् ।

‘संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी मुद्दाका माध्यमबाट निर्वाचन आयोगको संरचनालाई प्रभावित गर्ने र निर्वाचन हुन नदिने प्रयास पनि हुनसक्छ । त्यसैले उच्च सतर्कता र दबाब कायम राख्दै निर्वाचनको तयारीमा केन्द्रित हुनु जरूरी छ’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरूका लागि पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्थाको चर्को विरोध गरेका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सम्बन्धित तहको सरकारमा रहेका जनप्रतिनिधिहरूले उम्मेदवारी दिँदा राजीनामा दिनु नपर्ने तर स्थानीय तहका हकमा यस्तो बाध्यकारी व्यवस्था राखिनु विभेदपूर्ण र विरोधाभाषी छ । अझ महत्वपूर्ण कुरा, संविधान र स्थानीय तह निर्वाचन ऐनले कार्यकारी, विधायिकी र न्यायिक गरी तीनवटै भूमिका खेल्ने स्थानीय तहमा रिक्तताको परिकल्पनै गरेको छैन । र, कस्तै अवस्थामा पनि कुनै पनि तहको कार्यकारिणीको रिक्तता हुन सक्दैन । यसो गर्दा सेवा प्रवाहलगायत जनताका विभिन्न अधिकारको प्रयोगमा समस्या सिर्जना हुन्छ । त्यसैले निर्वाचन आयोगले गरेको यो व्यवस्था अनुचित र अनुपयुक्त छ’, ओलीको भनाइ छ ।

उनले निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको सन्दर्भमा निर्वाचनसम्मका लागि पार्टी कामको केन्द्रबिन्दू निर्वाचनको तयारी र त्यसमा पार्टीको विजय सुनिश्चित गर्नुपर्ने पनि बताएका छन् ।