• बैशाख २२ २०८३, मंगलवार

केन्द्रमा सरकार सञ्चालन गर्न पनि स्थानीय तहमा बहुमत चाहिन्छ : ओली

चैत्र ९ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार सहज ढंगले चलाउन पनि स्थानीय तहको बहुमत स्थानमा चुनाव जित्नुपर्ने बताएका छन् । उनले सोहीअनुसार योजना बनाएर अघि बढ्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए ।

स्थानीय तह निर्वाचनको रणनीति बनाउने लगायत विषयमा निर्णय लिन आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले बहुमत स्थानीय तहमा विजय हासिल गर्ने गरी तयारीमा जुट्न आग्रह गरे

‘केन्द्रमा बहुमतको सरकार बनेपछि पनि विकास जनताको घरदैलोमा पुर्‍याउने स्थानीय तह हुन् । स्थानीय तहमा महत्त्वपूर्ण ठाउँमा बहुमतसहित विजय हासिल गर्न सकेनौँ भने सहज नहुन सक्छ,’ ओलीले भने ।

ओलीले संगठनात्मक, प्रचारात्मक र अरू पक्ष कसरी अगाडि बढाउने यसै बैठकले तय गर्ने बताए । ‘आजका समस्या र चुनौतीको समस्या र समाधान गर्ने अभिभारा नेकपा एमालेसँग छ,’ ओलीले भने ।

बिहीवारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने लगायत कार्यसूची छ ।