काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग नै सत्ता गठबन्धनसँग मिलिसकेकाले यस पटकको निर्वाचनमा विशेष चनाखो हुन कार्यकर्तालाई आग्रह गरेका छन्।
सोमबारदेखि काठमाडौंमा सुरु पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग गठबन्धनसँग मिलिसकेकाले आगामी निर्वाचनमा मतपेटिकालाई आफूबाट ओझेल पर्न नदिन कार्यकर्तालाई आग्रह गरेका हुन्।
‘निर्वाचन आयोग गठबन्धनसँग मिलिसकेको देखिन्छ। त्यसैले यो निर्वाचनमा हामीले आँखाबाट मतपेटिकालाई ओझेल पार्नु भएन। अन्तिमसम्म मतपेटिका आँखा अगाडि हुनुपर्छ’, उनले भने, ‘मतपेटिकलाई लिएर अरुको कुरामा विश्वास गरेर हुँदैन। सबै चनाखो हुनुहोला।
पछिल्लो समय निर्वाचन आयोगको भूमिकालाई लिएर ओलीले यो पटकको निर्वाचनमा पनि ‘चितवनको भरतपुर काण्ड’ दोहोरिन सक्ने आशंका गरे।
‘निर्वाचन आयोग पहिले पनि एमालेविरुद्ध लागेको थियो। अहिले पनि त्यही कुरा दोहोरिन सक्ने अवस्था छ’, उनले भने, ‘हामी षड्यन्त्रभित्र छौँ। हाम्रा आँखा अगाडि मतपत्र हुनुपर्छ। मतपेटिका हामीबाट ओझेलमा पर्नुहुँदैन।’
२०७४ को स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेर चपाएपछि पुष्पकमल दाहाल पुत्री रेणु दाहालको पक्षमा परिणाम गएको थियो।