• बैशाख २२ २०८३, मंगलवार

चैत्रभित्रै उम्मेदवारको टुंगो लगाउँछौँ : प्रवक्ता महत

चैत्र ६ २०७८, आईतवार

काठमाडौँ। कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तह निर्वाचनका लागि चैत्रभित्रै उम्मेदवारको टुंगो लगाइसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सल्यानले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले पार्टीको विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारको टुंगो लगाउनेबारे व्यवस्था गरेको बताए । ‘उम्मेदवारको चयनबारे विधानले प्रष्ट व्यवस्था गरेको छ, त्यहीअनुसार हामीले चैत्रभित्रै उम्मेदवारको टुंगो लगाउँछौँ, त्यसपछि एक महिनासम्म उम्मेदवारलाई लिएर प्रचारमा जान्छौँ,’ उनले भने ।

प्रवक्ता महतले यसपालि विगतमा जस्तो उम्मेदवार दिने अन्तिम दिनसम्म समेत को उठ्ने भन्ने समस्या र अन्योल नरहने बताए ।

उनले पार्टीका तल्ला तहले उम्मेदवार चयन गर्न नसकेको अवस्थामा मात्रै माथिल्लो तहको हस्तक्षेप हुने बताए । ‘विधानले तल्ला तहबाटै उम्मेदवार चयनको व्यवस्था गरेको छ, यदि तल्ला तहले उम्मेदवारको चयन गर्न सकेनन् भने मात्रै त्यस्ता समस्या ठाउँमा केन्द्रको ध्यानाकर्षण हुन्छ,’ उनले भने, ‘जुन तहको उम्मेदवार हो, त्यो त्यहीबाट टुंगिओस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।’

उनले कांग्रेसले स्थानीय चुनावमा लोकप्रिय र जनताको प्रिय नेतालाई उम्मेदवार बनाउन आग्रह गरे ।

उनले अहिले नै चुनावमा गठबन्धन हुन्छ वा हुँदैन भनेर भन्ने बेला नभएको बताए ।