• बैशाख २२ २०८३, मंगलवार

गठबन्धनको बैशाखी टेकेर नबस्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

चैत्र ६ २०७८, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर नबस्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

आज पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्ने बताएका हुन्।

अध्यक्ष ’प्रचण्ड’ले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए । उनले भने,‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ । गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो ।’

प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउने दाबी पनि गरे । उनले भने, ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं ।’

स्थानीय तहको निर्वाचन तोकिएको मिति वैशाख ३० मै हुने बताउँदै प्रचण्डले यसमा कसैले पनि दुविधा पाल्न नहुने बताए ।