गोरखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको वास्तविक नाम नरहेको बताएका छन् ।
पार्टीद्वारा शनिबार गोरखामा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेको सुर्यमा ग्रहण लागिसकेको बताउँदै वास्तविक एमालेबाट बीमाले, सीमाले बनेको बताए ।
‘नेकपा एमाले अब एमाले रहेन, बीमाले, सीमाले भन्नुस्, सूर्यमा ग्रहण लागिसकेको छ मूलधारको पार्टी हाम्रो हो,’ उनले भने, ‘मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो ।’
अध्यक्ष नेपालले एमालेबाट छुट्टिएर बनाएको नेकपा (एस) नै मूलधारको पार्टी रहेको बताए । उनका अनुसार नेकपा (एस) एउटै पार्टी हो जसले मात्र जनताको समस्या बुझिरहेको छ ।
अहिले एमाले छोडेर आफ्नो पार्टीमा आउनेहरुको संख्या असंख्या रहेको पनि अध्यक्ष नेपालको भनाइ छ । साथै, आगामी हुने चुनावले नेकपा (एस) को जग दह्रो बनाउने पनि उनले ठोकुवा गरे ।