काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन्।
मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइ दिएको पनि बताए।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी पूरा गरेको जिकिर गरे ।
मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको बताए । उनले मुद्दा मामिलाका कारण महानगरपालिका अन्तरगतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए ।
कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताइन् ।