काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रोनभित्र लुकाएर ल्याएको एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राई छन् । बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेको विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।
उनको ड्रोनभित्र क्यामराको लेन्स छेऊमा अड्काएर राखेको अवस्थामा एक सय ग्राम सुन बरामद भएको र उनको लगेजमा रहेको जुत्ताभित्र पनि तीनवटा चाँदी जस्तो देखिने धातु बरामद भएको भट्टराई बताए।
भट्टराईका अनुसार उक्त धातु ९३४ ग्राम रहेको छ। उक्त धातु चाँदी नै हो कि होइन भन्ने परीक्षणका लागि प्रयोगशालामा पठाइएको उनले बताए। चारवटा आईफोन पनि बरामद भएको उनले बताए।
अहिले राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको र उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ।