• बैशाख २२ २०८३, मंगलवार

एडीबीलाई परियोजनाका काम तत्काल अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौँ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैंक (एडीबी) लाई आयोजनाहरुको काम अघि बढाउन आग्रह गरेकी छन् । शुक्रबार मन्त्रालयमा एडीबी प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा बनाइने आयोजना द्रुत गतिमा अघि बढाउनुपर्ने बताइन् ।

‘हामीसँग समय सीमित छ, काम धेरै छन्,’ मन्त्री झाँक्रीले भनिन्, ‘सकेसम्म सीमित अवधिमा धेरै काम गरौं भन्ने पक्षमा छौँ, त्यसैले एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम छिटो होस् भन्ने हो ।’ उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेपनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताइन् । मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरण परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् । उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुद काम गरिरहेको स्पष्ट पारिन् ।

छलफलमा एडीबीको दक्षिण एसिया हेर्ने महानिर्देशक केनिची योकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्ने कुरमा ध्यान दिनुपर्ने बताए । उनले गुजरात मोडल अनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिए । हाल एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको मन्त्रालयका सहसचिव रवीन्द्र बोहराले जानकारी दिए । छलफलमा मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, एडीबीका नेपाल प्रतिनिधि लगायतको सहभागिता थियो ।