काठमाडौँ। संवैधानिक निकायहरूमा गरिएको नियुक्तिविरुद्ध दायर रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
गत वर्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी प्रावधान संशोधन गरेर तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति दिएको थियो ।
सो नियुक्ति संवैधानिक प्रावधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता समृत खरेल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेका रिट निवेदनहरू संवैधानिक इजलासमा पठाइएपछि आज पहिलो पटक एकसाथ सुनुवाइ सुरु भएको हो ।
संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।