• बैशाख २२ २०८३, मंगलवार

कांग्रेस नेतालाई पुनको चेतावनी : विचार गरेर बोल्नू, ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं’

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन्।

तर, आफूहरूले बुई चढाएर सडकबाट सत्तामा पुर्‍याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरेका छन् । माओवादी केन्द्र र सत्ता गठबन्धनमा आवद्ध अरू दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न पुनले चेतावनी समेत दिएका छन् ।

सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न पुनले आग्रह गरे।

‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्‍याएका हौं। आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्। हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’

नेता पुनले चुनावी गठबन्धनविरूद्ध रहेका कांग्रेस नेतालाई चार वर्षअघि फर्किएर २०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाए। उनले आफ्नो बास्तविक शक्ति सम्झिएर के बोल्ने- के नबोल्नेबारे विचार गर्न आग्रह गरे। केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न कांग्रेस नेतालाई सुझाए।

‘सत्ता उन्मादले केपी ओली प्रतिगमनको नाइके हुनुभयो। पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाई विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ।’

तर, आफ्ना हार्डकोर कार्यकर्ताबाहेक कसैले पनि ओलीप्रति सहानुभूति नदर्शाएको अवस्था कांग्रेस नेताले बुझ्नुपर्ने पुनले सम्झाए।

उनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी गरे। स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको दाबी गरे।

वित्त आयोगको प्रतिवेदनले कार्यसम्पादनका आधारमा देशभरका पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेस्रो र पाचौं माओवादीले नेतृत्व गरेका स्थानीय तह भएको औल्याएको भन्दै पुनले माओवादी जनप्रतिनिधिले जनताका पक्षमा काम गरेको बताए।