• बैशाख २२ २०८३, मंगलवार

एकीकृत समाजवादीको चुनावी तयारी : सातै प्रदेशमा अनुगमन टोली पठाउने

चैत्र ३ २०७८, बिहीबार

काठमाडौँ। सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा अनुगमन टोली खटाउने भएको छ। राजधानीको आलोकनगरमा बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले सातै प्रदेशमा अनुगमन टोली खटाउने निर्णय गरेको हो।

जसअनुरुप प्रदेश १ मा प्रमेश हमाल, मधेसमा जगन्नाथ खतिवडा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णाली प्रदेशमा डा‍‍‍ वेदुराम भुषाल र सुदूरपश्चिममा रामचन्द्र झालाई अनुगमन टोलीको जिम्मेवारी दिइएको छ। प्रचार विभागप्रमुख जगन्नाथ खतिवडाका अनुसार सातै टोलीले पार्टीको सांगठनिक अवस्थाको विवरण केन्द्रमा गर्नेछन्।

चुनावी तयारी, गठबन्धन र आगामी केन्द्रीय कमिटी बैठक राख्ने सम्बन्धमा केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव सम्बन्धमा ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारा तय गरेको प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

‘सोही नारा लिएर जनतामा जाने, अनुगमन टोलीले गाउँ, वडा, पालिका सबैको रिपोर्टिङ लिएर आउनेछ’, खतिवडाले भने। यससँगै चुनावमा गठबन्धनबारे भने केन्द्रीय कमिटीमा थप छलफल हुने उनले बताए। अहिले चुनाव प्रचारप्रसारको काम एकसाथ अगाडि बढाउने गरी मापदण्ड निर्माण भएको उनको भनाइ छ।