काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्न कलमले कमाल गर्ने दाबी गरेका छन्।
एकीकृत समाजवादीले गरेको होली कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि गाउँ गाउँ पुगेर जनपरिचालनमा लाग्न पार्टीका सम्पूर्ण नेता र कार्यकर्तालाई आग्रह गरे।
‘पार्टीको सामर्थ्य निर्वाचनमा पनि देखिने भएकाले यसमा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु’, उनले भने, ‘राष्ट्रिय सभाको पहिलो र दोस्रो पटकको निर्वाचनमा यसको प्रभाव देखिएको छ।’
उनले आफूहरुलाई खिसिट्युरी गर्नेहरुको हरिविजोग उक्त निर्वाचनमा देखिएको भन्दै अब आउने निर्वाचनमा पनि यस्तै हुने दाबी गरे। अनेकतामा एकता नै नेपालको विशेषता रहेको भन्दै उनले अनेकताले एकतामा पुर्याउने बताए।
कमजोरी सुरु भयो भन्नेवित्तिकै अन्तिम अस्त्र प्रहार गर्न नहुने उनले बताए। ‘म युट्युबहरुलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्दछु’, नेपालले भने, ‘समस्या सबैतिर छ। तर, समाधानको उपयोग हुन्छ। तर, समाधानको दुरुपयोग हुन हुँदैन।’