• बैशाख २३ २०८३, बुधबार

सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ

चैत्र २ २०७८, बुधबार

काठमाडौं । सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँको विभिन्न ठाउँबाट उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौंको गोंगबु, मिलन टोल बस्ने अमृत थापा, सोही ठाउँ बस्ने प्रज्ज्वल खड्का, जीवनकुमार श्रेष्ठ, सामाखुसी बस्ने रञ्जित कार्की, बालाजु बस्ने रामजी परियार, नयाँ बसपार्क बस्ने गोमा बजगाईं छन् ।

यस्तै, गौशाला बस्ने मिठे मगर, ललितपुर, मानिखेल बस्ने रमेश बजगाईं, माछापोखरी बस्ने सन्दीप मैनाली, धुम्बाराही, पिपलबोट बस्ने अभिषेक मगर, सिनामंगल बस्ने निरञ्जन तिवारी र कलंकी बस्ने मदन तामाङ छन् ।

उनीहरूबाट प्रहरीले १० वटा विभिन्न सरकारी तथा निजी छाप, कन्सुलर विभागको एउटा, राष्ट्रिय परीक्षा बोर्डको एउटा, परीक्षा नियन्त्रण कार्यालयको एउटा छाप बरामद गरेको छ।

यस्तै उनीहरूबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू समेत बरामद भएको प्रहरीले जनाएको छ।