काठमाडौं । आज मंगलबारदेखि काठमाडौंमा दक्षिण एसियाली महिला सम्मेलन सुरु भएको छ ।
सम्मेलनको उदघाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले एक्काइशौं शताब्दीको समाजमा पनि महिला र बालबालिकाले शोषण र हिंसा भागिरहनुपर्ने अवस्था आउनु दुखद रहेको बताएका छन् ।
उपराष्ट्रपति पुनले घरेलु हिंसाबाट पीडितमध्ये ७० प्रतिशत महिला आफन्तबाटै घरेलु हिंसाको शिकार हुनुपरेको बताउदै अशिक्षा, अज्ञानता, बेरोजगारी, गरिबी र विभिन्न प्रकारका द्धन्द्ध, जलवायु परिवर्तन, कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताए ।
उपराष्ट्रपति पुनले विभिन्न मुलुकबीचको अन्तर्राष्टिय रुपकै सहकार्यबाट मात्रै विश्वबाट महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न सकिने जनाए । नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकाको हक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुहुँदै उनले यस सम्मेलनले महिला शसक्तिकरण र महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि दक्षिण एसियाबाट पहलकदमी सुरु गर्नेछ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले महिला र बालबलिकामाथिको हिंसा अन्तराष्ट्रिय रुपमै ब्याप्त भएकाले यसको न्यूनिकरणमा अन्ताराष्ट्रिय रुपमै पहल जरुरी रहेको उल्लेख गर्दै महिला र बालबालिकामाथि हुने हिंसा विरुद्ध विभिन्न कानुन बनेपनि तीनको प्रभावकारी कार्यान्वयनका लागि सरकारका निकायले आआफ्नो भूमिकालाई अझै बढाउनुपर्ने उनले जनाए ।
महिला र बालबालिकामाथिको हिंसा भनेको मानव अधिकारको उल्लंघन भएकाले यसको अन्त्यको लागि मानवअधिकार आयोग कटिवद्ध रहेको उनले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासंघ र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा उक्त सम्मेलन सुरु गरिएको हो ।