• बैशाख २३ २०८३, बुधबार

मादी बस दुर्घटनाका मृतकका परिवारलाई १ लाख रुपैयाँ दिइने

चैत्र १ २०७८, मंगलवार

संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ ।

गत बिहीवार मादी नगरपालिका–६ सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।

सोमवार बसेको मादी नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए ।

बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँ समेत दिइनेछ भने मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक समेत बनाउने निर्णय पनि गरेको प्रमुख सुब्बाले बताए । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उनको भनाइ छ ।

मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटना हँुदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताए ।