उदयपुर । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको उद्घाटन गरेका छन् ।
आज आयोजित एक कार्यक्रमबीच त्रियुगा नगरपालिका-१० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उद्घाटन गरेका हुन् ।
नवनिर्मित भवनहरुको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
२४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुविधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । साथै सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध समेत गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।