वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफूमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।
सोमबार मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।
विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफुले नयाँ पार्टी रोज्नुपरेको बताए।
उनले भने, ‘पूर्ण रुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपथ्र्यो । किनभने म त राजनीतिक पृष्ठभुमिबाट आएको थिएन । म आर्थिक र सामाजिक पृष्ठभुमिबाट आएको व्यक्ति थिए । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपथ्र्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुव्र्यवहारहरु हुने, सामाजिक रुपमा मलाई जहिल्यैपनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेको थिए । मैले अध्यक्षजीलाई पहिलापनि भनिसक्या थिए कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ ।’
मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए । आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदा हुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको बताए ।
उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको बताए । पार्टीले आफ्नो काम र प्रस्तुती हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए । उनले भने, ‘म जुन एमाले पार्टी प्रवेश गरेको छु । पार्टी प्रवेश गर्दाखेरी कहिल्यैपनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ । म निशर्त गएको छु । अब पार्टीले मुल्यांकन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, म कसरी आफ्नो पर्फमेन्स गरे । उहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेश अनुसार, पार्टीको टिकट अनुसार म अगाडी बढ्छु ।’