• बैशाख २२ २०८३, मंगलवार

देउवालाई भीम रावलको जवाफ- झुटो बोल्ने प्रधानमन्त्रीको ‘दिमाग खुस्केर’ होस् हराएको हुनुपर्छ

फाल्गुन ३० २०७८, सोमबार

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई लिएर अनावश्यक विरोध गरेको भन्दै सोमबार नुवाकोट पुगेर दिमाग खुस्किएको बताएपछि रावलले जवाफ फर्काएका हुन्।

देउवाले दिएको उक्त अभिव्यक्तिको जवाफ दिँदै रावलले भनेका छन्, ‘तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’

रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसिसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन्। उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका हुन्।

उनले थप बहस गर्ने इच्छा भए आफू तयार रहेको बताएका छन्। पदीय मर्यादाका लागि तुच्छ शब्द प्रयोग नगर्न समेत रावलले सुझाएका छन्।